प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०७९
नाटकीय अपहरणमा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा पक्राउ
२०७९-०३-०७

काठमाडौं: नाटकीय अपहरणको नाममा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा ललितपुर ईमाडोल डेरा गरी बस्ने सप्तरी राजगढ गाउँपालिका-३ ठेगाना भएका ३१ वर्षीय कृष्ण कुमार शर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । आईएमईबाट रकम पठाउन भन्दै गत बुधबार डेरा कोठाबाट निस्केका कृष्ण कुमार मोबाईल स्वीच अफ भई सम्पर्क विहिन भएको र खोजी गर्दा फेला नपरेको भनि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकोमा निजले प्रयोग गर्ने सामाजिक सञ्जाल ईमोबाट कृष्ण कुमार अपहरणमा परेको र २० लाख रुपैयाँ फिरौती दिए अपहरण मुक्त गरिदिने र घटनाबारे प्रहरीलाई खबर गरेमा वा २ दिनभित्र मागेको रकम नदिएमा ज्यान मार्ने धम्की पूर्ण म्यासेज र अपहरण परेको भिडियो बनाइ डरत्रास देखाइएको थियो ।घटनाको जानकारी पश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नो घर परिवारलाई डरत्रास देखाई दबाब दिन आफूलाई अपहरण गरेको म्यासेज तथा भिडियो आफ्नो परिवारलाई पठाई कृष्ण कुमारले नै नाटकीय अपहरण गरेको म्यासेज तथा भिडियो बनाएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा विराटनगरबाट उनलाई पक्राउ गरेको हो ।उनीलाई सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

नगद ठगी गरी फरार एक जना पक्राउ
२०७९-०३-०७

काठमाडौं: डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काई नगद ८ लाख रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर महानगरपालिका-१८ नख्खु बस्ने ६२ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिले आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारको लागि पैसाको अत्यन्तै अभाव रहेकोले डलरका केही नोटहरु साटिदिन अनुरोध गरी उक्त नगद ठगी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुल्न आएपछि प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट उनलाई पक्राउ गरेको हो ।कुमार उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ । 

जबरजस्ती करणी पश्चात नगद र गहना लुटपाट गरी फरार रहेका व्यक्ति पक्राउ
२०७९-०३-०७

काठमाडौं: २४ वर्षीया महिलालाई जबरजस्ती करणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेको अभियोगमा काभ्रे तिमाल गाउँपालिका-९ घर भई बनेपा डेरा गरी बस्ने भोटे, जय, आशिष भन्ने ३० वर्षीय बिश्व तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।ती महिलालाई जेठ २९ गते आफूलाई भोटे बताउने व्यक्तिले ललाई फकाई बिबाह गर्छु भनी प्रलोभनमा पारी काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित एक गेष्ट हाउसमा राखी लठ्ठिने पदार्थ पेय पदार्थमा मिसाएर खुवाई जबरजस्ती करणी पश्चात ती महिलाको नगद १ लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए । उक्त घटनाको सूचना प्राप्त भएको तर अभियुक्त अपरिचित भई शून्यकै अवस्थामा रहेको अनुसन्धानलाई अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी अभियुक्तको पहिचान हुनासाथ प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।उनी उपर जबर्जस्ती करणी गर्न नहुने र चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइहेको छ ।

एक राउण्ड गोली सहित पक्राउ
२०७९-०३-०१

काठमाण्डौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिई आएको झोला ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । 

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने पक्राउ
२०७९-०३-०१

काठमाण्डौ: पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाईदिन्छु, काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ एवं हवाई टिकटको लागि ८ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रोहितलाई बालुवाटारबाट पक्राउ गरेको हो । साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिषाहरू नक्कली भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।